काठमाडौं : “वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता” काठमाडौँ । आगामी माघ १४ गते मनाउन लागिएको सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको नारा तय भएको छ । सरकारले यस वर्षका लागि “वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता” भन्ने नारालाई छनोट गरेको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१ पुस १६ गतेको बैठकले उक्त निर्णय गरेको हो ।
दिवस मनाउनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालको संयोजकत्वमा सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा आवद्ध विभिन्न निकायहरू सम्मिलित पच्चीस सद्दस्यीय “सम्पत्ति शुद्धीकरण निवारण दिवस मूल समारोह समित – २०८१” गठन गरिएको छ । समितिको पहिलो बैठक २०८१ पुस २५ गते सम्पन्न भएको छ ।
बैठकले आगामी माघ १४ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा यस प्रणालीसँग सम्बद्ध सबै संस्था, निकाय, संरचना तथा पदाधिकारीहरुको उपस्थितिमा मूल समारोहको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
साथै, मूल समारोह समितिले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा आबद्ध सबै निकायहरूलाई छलफल, अन्तरक्रिया, अभिमुखीकरण, प्रशिक्षण लगायतका कार्यक्रमहरू गर्न र उत्कृष्ट कार्य गर्ने निकाय तथा व्यक्तिलाई पुरस्कार एवम् सम्मान गर्न तथा अन्य रचनात्मक क्रियाकलापहरु सञ्चालन गरी दिवस मनाउन आह्वानसमेत गरेको छ ।
मूल समारोहको पूर्वसन्ध्यामा सञ्चालन हुने गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्व महानिर्देशकहरूसँग अन्तरक्रिया एवम् छलफल, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा वाणिज्य बैङ्कहरुको भूमिका, बहुमूल्य धातु तथा सुन चाँदीको कारोबार व्यवसायमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अनुपालना, नियामक तथा अनुसन्धानकारी निकायहरूबीच अन्तरक्रिया लगायतका विविध कार्यक्रमहरूको आयोजना हुने भएको छ ।
दिवसबाट सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण प्रणालीमा संलग्न निकायहरूबीच समन्वय एवम् सहकार्य अभिबृद्धि हुने; नेपालमा सम्पत्ति शुद्धीकरण निवारण प्रणाली स्थापित भई राज्यको उच्च प्राथमिकतामा परेको सन्देश प्रवाह हुने; सम्पत्ति शुद्धीकरण निवारण विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
साथै अपराध निवारणमा सामाजिक सहयोग र समर्थन जुटाउन सहज हुने; तथा, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीका सम्बन्धमा मुलुकमा देखा परेका चुनौती एवं प्रवृत्तिगत आयामहरु एवम् सामना गर्ने सम्भावित उपायहरुका बारेमा सहकार्यमूलक सवल संस्कृति निर्माण गर्न साझा मञ्च निर्माण हुने अपेक्षा राखिएको छ ।
साझा अर्थ संवाददाता