काठमाडौं । माघ महिनाका २० वटा वाणिज्य बैंकमा अधिकांशले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माघ १ गतेदेखि लागू हुने गरि निर्धारण गरिएको ब्याजदरमा २० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुईवटाले घटाएका छन् भने एकले बढाएको छ ।
पुसकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे बैंक रहेका छन् । त्यसैगरी सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र एनआइसी एशिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
त्यसैगरी ब्याजदर घटाउनेमा नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने लक्ष्मी सनराइज बैंकले बढाएको छ ।
औसतमा माघको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटेर ६.००१ प्रतिशत निर्धारण भएको छ । पुसमा औसत ब्याजदर ६.०२९ प्रतिशत निर्धारण भएको थियो ।
साझा अर्थ संवाददाता