रामपुर (पाल्पा), २६ पुसः पाल्पाको रामपुर नगरपालिकामा लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा ल्याइएको छ । रामपुरको ऐतिहासिक धार्मिक सम्पदाको रुपमा रहेको लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालमा ल्याइएको हो ।
रामपुर–४ स्थित खोप्टारमा करिब दुई सय वर्ष पुरानो इतिहास रहेको यस धर्मशालाको पुनर्निर्माणपश्चात् रामपुर नगरपालिका, जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको छ । कुनै समय गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका वेशभूषा सङ्ग्रह गरी यहाँ राखिएको लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समिति अध्यक्ष कविता मल्लले जानकारी दिनुभयो ।
विभिन्न व्यक्तिबाट प्राप्त भएका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राखिएको छ । यहाँ विभिन्न जातजातिसँग सम्बन्धित संस्थाको समन्वयमा जातीय पोसाक रहेका छन् । धर्मशालाको तल्लोतलामा विगतमा प्रचलनमा रहेका पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजातिसँग सम्बन्धित पोसाक राखिएको छ ।
कालीगण्डकी बेँसी क्षेत्रको पहिचानको रुपमा रहेको यस धर्मशालाको इतिहासलाई जीवन्त राख्न जीर्ण अवस्थामा रहेको धर्मशालालाई पुनर्निर्माण गरी अहिले सङ्ग्रहालयको रुपमा विकास गरी हाल सञ्चालनमा ल्याइएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
रामपुर नगरपालिकाबाट प्राप्त रु दुई लाख बजेटले यसवर्ष बारबन्देजको केही काम गरिएको छ भने वडा नं ४ को वडा कार्यालयबाट विनियोजित रु एक लाख रकमले सङ्ग्रहालयमा बिजुली बत्तीको व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार यसको रेखदेख र संरक्षणमा स्थानीय तहबाट आवश्यक सहयोग हुनेछ ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रुपमा सञ्चालन हुँदै आएको थियो । पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो । पहिला झिँगटीले छाइएको थियो भने अहिले लामो समयसम्म झिँगटीले काम नगर्ने भएपछि जस्तापाताले छाइएको छ । चन्द्रमा, सूर्य आकारका विभिन्न बुट्टाले भरिएका छन् । सुर्की, इँटा, ढुङ्गा, काठले तयार पारिएको छ ।
पौराणिक इतिहास बोकेको यस धर्मशाला रामपुरको चिनारीको रुपमा रहेको हुँदा पुनर्निर्माणपश्चात् सङ्ग्रहालयको रुपमा स्थापना गरिएको छ, यहाँ पुराना सामग्री खोजी गरी संरक्षण गरेर राख्दा नयाँ पुस्ताले मौलिक सामग्रीबारे जानकारी लिने, अध्ययन अवलोकन गर्ने थलोको रुपमा विकास गरिने लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।
रामपुर क्षेत्रको पुरानो धार्मिक धर्मशालालाई २०७२ को भूकम्पले क्षति पु¥याएपछि पुरातत्व विभागको रु तीन करोड छ लाख ५३ हजारको लागतमा पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो । कुनै समय पुनर्निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ । अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन् । जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनर्निर्माण गरिएपछि सबैलाई लोभ्याएको छ ।
कलात्मक शैलीमा पुरानै स्वरुपमा बनाइएको धर्मशाला यतिबेला सामाजिक सञ्जाल, टिकटक, फेसबुकमा चर्चा बढ्दै गएको छ । आकर्षक बुट्टा भरेर चिटिक्क परेको धर्मशाला साथीहरुसँग अवलोकन गर्दै टिकटक बनाउन, फोटो तथा भिडियो खिच्नेको चहलपहल बढ्दो छ ।
करिब एक रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गरिएको छ । यहाँ शौचालय, पर्खाल लगाइएको छ । यस धर्मशालालाई पार्टी भवनका नामले बढी चिनिन्छ । सो सम्पदा विसं १८८९ भन्दा अघि निर्माण भएको ताम्रपत्रमा उल्लेख छ । यहीँ पार्टी भवनअर्थात् धर्मशालामा विसं २०२५ मा स्थापना भएको रामतुलसी मावि आठ महिना सञ्चालन भएको बूढापाका बताउँछन् ।
विसं १८७९ मा साविक रामपुर गाविस–८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको थियो । तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो । तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बाँस बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो ।
टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा बीचमा बाँस बस्ने व्यवस्था नहुँदा यही धर्मशालामा रात बिताउने र भोलिपल्ट आफ्नो गन्तव्यतर्फ लाग्ने गर्दथे । पछिल्ला वर्षमा सडक सुविधा, घर वस्ती बढेसँगै धर्मशाला प्रयोगविहीन भएपछि संरक्षणमा कसैको ध्यान जान सकेको थिएन । विसं २०७२ को भूकम्पले यसलाई क्षति गरेपछि यो जीर्ण थियो ।
धर्मशालासँगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै दश रोपनी जग्गा छ । रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको यस लक्ष्मीनारायण धर्मशाला (गुठी) समुदायलाई हस्तान्तरण गरिएको हो । धर्मशालामा पहिले टाढाका बटुवा तथा तीर्थयात्री दैनिक ३० जनाभन्दा बढी बाँस बस्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।
ठूला सहर, भारतमा रोजगारी, अध्ययन या अन्य कुनै कामले यसतर्फ जाने रात परेपछि यहीँ बास बस्ने गर्दथे । बटौली (हालको बुटवल) बजारमा सामान लिन जानेका लागि पनि यहीँ धर्मशाला बास बस्ने ठाउँ थियो । यहाँ बास बस्नेलाई खाना र बासको राम्रो प्रबन्ध थियो । पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालीन समयमा राजदरबारकै रुपमा चिनिने गरिन्थ्यो । रासस
साझा अर्थ संवाददाता