नेपालमा सार्वजनिक तथा निजी क्षेत्रबाट हुने निर्माणका गतिविधि सुस्त हुँदा यस क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको छ । तथ्यांक कार्यालयले निर्माण क्षेत्रको वृद्धिदर अझै ऋणात्मक र थोक तथा खुद्रा व्यापार, शिक्षा र खानी तथा खनिज क्षेत्रको वृद्धिदर झिनो हुने अनुमान गरेको छ । कार्यालयका अनुसार अर्थतन्त्रका १८ क्षेत्रमध्ये ११ क्षेत्रको वृद्धिदर ५ प्रतिशतभन्दा न्यून हुने देखिएको छ भने १० प्रतिशतभन्दा बढी वृद्धिदर भएको क्षेत्र एउटा मात्रै छ ।
सरकारले पुँजीगत खर्च बढाउन नसक्दा निर्माण क्षेत्र निरन्तर ऋणात्मक देखिँदै आएको छ । पहिलो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर ०.३ प्रतिशतले ऋणात्मक हुने कार्यालयको अनुमान छ ।
चालू आवको पहिलो त्रैमासमा थोेक तथा खुद्रा व्यापारको वृद्धिदर ०.५ प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आव ०८०र८१ को पहिलो त्रैमासको तुलनामा कुल १८ वटा क्षेत्रमध्ये १७ क्षेत्रको वृद्धिदर धनात्मक रहेको छ । जसमध्ये विद्युत् तथा ग्यासको वृद्धिदर सबैभन्दा धेरै २१.४ प्रतिशत रहेको अनुमान छ । त्यस्तै, यातायात तथा गोदाम क्षेत्रको वृद्धिदर ६.७ प्रतिशत, आवास तथा भोजन सेवा क्षेत्रको ६.३ प्रतिशत, वित्तीय तथा बिमा क्षेत्रको ५.७ प्रतिशत, प्रशासनिक सहयोगी सेवा क्षेत्रको ५.४ प्रतिशत र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
त्यसैगरी, यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, शिक्षाको ०.४ प्रतिशत, स्वास्थ्यको ४.१ प्रतिशत, घरजग्गा कारोबारको ३.१ प्रतिशत र खानी तथा उत्खननको ०.४ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
साझा अर्थ संवाददाता