पात्रो

रेडियो

समाचार खोजी

आयात प्रतिस्थापनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

साझा अर्थ संवाददाता २३ पुष २०८१, मङ्गलवार

 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन्। नेपाल निर्यात परिषद्को २७औँ वार्षिक साधारणसभा तथा नवौँ निर्यात दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नुपर्ने धारणा राखेका हुन्। 

‘सरकारले आयात प्रतिस्थापन र  निर्यात प्रर्वद्धन गर्ने नीतिअनुरूप काम गर्नुपर्छ। आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्यो। निर्यातका लागि पनि सोहीअनुरूप नीति बनाउन र कार्यान्वयन गर्नुपर्छ। यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ,’ उनले भने। अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे।

यस्तै, उनले निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेशस्थित नेपाली नियोगहरूलाई पनि देशअनुरूप टार्गेट दिन र सोअनुरूपको मूल्यांकन गर्न आग्रह गरे। अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नति हुने हुँदा या त नेपाल त्यसको लागि तयार रहनुपर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे। 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले उठाएको चासोप्रति सरकार गम्भीर रहेको उल्लेख गरे। निजी क्षेत्रलाई समेत आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन उनले आग्रह गरे। 

कार्यक्रममा निजी क्षेत्रका अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धन आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए।

257 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता