ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ।
पौष १८ गतेदेखि स्थापनाको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले सातवटै प्रदेशमा एकैसाथ रक्तदानसहित निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमअन्तर्गत कोशीको तीनपैनी, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको कान्तिपथ र नारायणगढ, गण्डकी प्रदेशको पोखरा न्यूरोड, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल र नेपालगंज, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा ७५७ रक्तदाताले रक्तदान गरेका थिए। यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो।
साझा अर्थ संवाददाता