पात्रो

रेडियो

समाचार खोजी

मार्कीचोकमा २२० केभी सबस्टेसन सञ्चालनमा

साझा अर्थ संवाददाता १७ पुष २०८१, बुधवार

 

तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित २२०–१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ। मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह गरी ९चार्ज० सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइनलाई पनि मंगलबार नै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ।

८२ किलोमिटर उक्त प्रसारणलाइनलाई ७ असार ०७९ बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो। मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो। मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत प्रसारणलाइन र मार्कीचोक तथा काठमाडौंको मातातीर्थमा २२०–१३२ केभी सबस्टेसन निर्माण गरिएको छ।

मातातीर्थ सबस्टेसन गत वैशाखबाट सञ्चालनमा आइसकेको छ। दुवै सबस्टेसनमा १६०–१६० एमभिए क्षमताका दुई–दुई पावर ट्रान्सफर्मर राखिएका छन्। दुवै सबस्टेसनको क्षमता ३२०–३२० एमभिए रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाहरूको विद्युत् २२० केभी प्रसारणलाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए। यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उनको भनाइ छ।

घिसिङले मर्स्याङ्दी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने बताए। मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ। मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको वाँणभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइनलाई वाँणभञ्ज्याङमा एक–आपसमा आबद्ध गरिएको छ। त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारणलाइनलाई वाँणभञ्ज्याङबाट मल्टिसर्किट ९चार सर्किट०मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ।

मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारणलाइनबाट आएको करिब एक–एक हजार मेगावाट विद्युत् वाँणभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारणलाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ। 

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्