कार निर्माता कम्पनी हुन्डाईको इभी क्रसओभर एसयुभी आयोनिक–५ ले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको छ । यसको आयोजना हुन्डाई इन्डिया र ड्राइभिङ प्रोफेसनल टिम ‘इभो इन्डिया’ले आयोजना गरेका थिए ।
आयोनिक–५ ले मिलेर पाँच हजार सात सय ९९ मिटर अग्लो स्थानमा पुगेर रेकर्ड बनाएको हो । लद्दाखबाट सुरु भएको उक्त यात्रा केरलाको कुट्टान्डामा पुगेर समाप्त भएको थियो । अहिलेसम्म विद्युतीय कारहरूले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाइ पुगेर आयोनिक–५ ले विश्व रेकर्ड बनाएको कम्पनीको दाबी छ ।
यो यात्रा पूरा गर्न आयोनिकलाई १४ दिन लागेको थियो । यस अवधिमा गाडीले चार हजार नौ सय किलोमिटर दूरी तय गरेको हुन्डाई इन्डियाले जनाएको छ । निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनिक–५ ले उत्कृष्ट यात्रा प्रदान गरेको कम्पनीको भनाइ छ ।
हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक अन्सु किमले भने, ‘हुन्डाई आयोनिक–५ ले सबैभन्दा ठूलो उचाइ परिवर्तनका लागि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएर इतिहास रचिएको देख्न पाउँदा हामी खुसी छौँ । यो उपलब्धि हुन्डाईको नवप्रवर्तन, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण हो ।’
अत्याधुनिक इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्म ९इ–जिएमपी०मा विकसित हुन्डाई आयोनिक–५, स्मार्ट मोबिलिटी अनुभवलाई पुनः परिभाषित गर्न डिजाइन गरिएको हो ।
साझा अर्थ संवाददाता