कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. राणाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
“सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ, प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ’ उनले भनिन्, ‘हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।”
मन्त्री राणाले यस आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर पर्यटन लगायतका पूर्वाधारहरुमा लगानी बढाउन पनि अपिल गरेकी छिन् ।
“काठमाडौँको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरु निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यवसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा स्वागत गर्न चाहन्छु” उनले थपिन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताएका छन् । उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे ।
उनले वन मन्त्रालय विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह पनि गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै उनले बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे ।
जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए । “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ, पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ” उनले भने ।
अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको पनि बताए । यसको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । ५ अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुने परियोजनाले जनाएको छ ।
साझा अर्थ संवाददाता