प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको ९८ करोड रुपैयाँबराबरको आइपिओ निष्कासन गर्ने कार्य अघि बढेको छ। प्रभु ग्रुप्स एन्ड कम्पनिजअन्तर्गतका विभिन्न कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु स्टिल्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबिच सेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता भएको हो।
यस कम्पनीमा प्रभु केवलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङस् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङस् एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ। कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दै आएको छ।
यस कम्पनीले हाइड्रोपावरका विभिन्न संरचनामा चाहिने मेसिनहरू आयात गरी भण्डारण गर्ने र जलविद्युत् कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ३१ मा यसै आ.व.मा तीन बिघा जमिनसमेत खरिद गरेको छ। कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फूलबारी पार्क देउराली डाँडास्थित गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोटगढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत लगानी छ।
आइपिओ निष्कासनपछि आउने रकमले जलविद्युत् क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको कम्पनीले जनाएको छ। यस इन्भेस्टमेन्ट कम्पनीले बडिमालिका केवलकार, इच्छाकामना केवलकार र प्रभु जलविद्युत् विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिबद्धता गरेको छ। कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी छ भने जारी पुँजी २ अर्ब छ।
कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी छ। आइपिओबाट आउने सर्वसाधारण समूहको ९८ करोडसमेत गरी कम्पनीको पुँजी २ अर्ब पुग्नेछ। कम्पनीले प्रतिकित्ता रु. ५० दरका एक करोड ९६ लाख कित्ता सेयर निष्कासन गर्नेछ। यो कम्पनी गत २ वर्षदेखि सञ्चालित मुनाफामा रहेको बताइएको छ।
साझा अर्थ संवाददाता