पात्रो

रेडियो

समाचार खोजी

काँक्रोको बीउ बचेरे दुई करोड आम्दानी

साझा अर्थ संवाददाता २२ साउन २०८१, मङ्गलवार

पर्वतः जलजला गाउँपालिका-७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् । 

व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिनुभयो । 

गत वर्षभन्दा यसवर्ष उत्पादित बीउले राम्रो मूल्य पाएको उहाँले बताउनुभयो । यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन् । पौडेलले भन्नुभयो, “गतवर्ष प्रति किलो रु पाँच हजारदेखि रु छ हजारमा बिक्री भएकामा यसपटक मूल्य बढेर रु १० हजारदेखि दश हजार पाँच सयसम्ममा बिक्री भयो”। 

व्यवसायीहरुले गाउँमै आएर बीउ खरिद गर्ने गरेको उहाँको भनाइ छ । काँक्रोको  बीउ बिक्री गरेर यसवर्ष थोरैमा रु तीन लाखदेखि धेरै आम्दानी गर्नेले रु दश लाखसम्म आम्दानी गरेको उहाँको भनाइ छ । राम्रो मौसम परेकाले यसपाली सल्यानको फाँटमा काँक्रोको बीउ उत्पादन राम्रो भएको किसान बलराम आचार्यले बताउनुभयो । 

किसान आचार्यले भन्नुभयो, “गतवर्ष ४० किलो उत्पादन भएकामा यस वर्ष ७५ किलो उत्पादन गरेँ ”। प्रतिकिलो रु दश हजारका दरले बिक्री गर्दा रु सात लाख ५० हजार आम्दानी भएको उहाँको भनाइ छ ।  

यहाँ उत्पादन भएको काँक्रोको बीउ सङ्कलन गरेर एक हजार किलो काठमाडौँस्थित न्यू ग्रेसको सिट सप्लायर्सलाई पठाइएको किसान पौडेलले बताउनुभयो । पौडेलका साथै वडाध्यक्ष टुङ्गनाथ आचार्य, स्थानीय गोपाल आचार्य, इन्द्र पौडेलले गाउँमा उत्पादन भएको बीउ सङ्कलन गरेर बिक्रीका लागि काठमाडौँ, पोखरा र बेनी पठाउने गर्नुहुन्छ । 

स्थानीय नवराज शर्मा यसवर्ष गाउँभरिमा सबैभन्दा धेरै ९७ किलो काँक्रोको बीउ उत्पादन गरेर रु नौ लाख ७० हजार आम्दानी गर्न सफल हुनुभएको छ । उत्पादन भएको काँक्रोको बीउले राम्रो मूल्य पाएपछि  किसान उत्साहित भएका छन् । यहाँका किसानले २० वर्षदेखि निरन्तर रुपमा काँक्रो र गोलभेडाको बीउ उत्पादन गरेर गाउँमा रु दुईदेखि रु तीन करोडसम्म भित्र्याउने गरेका छन् । 

पछिल्ला केही वर्षयता काँक्रो र गोलभेडाको बीउले राम्रो मूल्य पाउन थालेपछि विदेश पुगेका युवासमेत गाउँ फर्किएर कृषि खेतीमा लागेको युवा किसान टेकनारायण आचार्यले बताउनुभयो । तरकारी र बीउ उत्पादनको पकेट क्षेत्र रहेको धाइरिङका किसानले व्यावसायिक रुपमा ताजा तरकारी उत्पादन गरेर पनि राम्रो आम्दानी लिने गरेका छन् ।

 यहाँ उत्पादन भएको तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, मुस्ताङ, बागलुङ, कुस्मा र पोखरासम्म पुग्ने गर्दछ । ताजा तरकारी र बीउ उत्पादन गरेर यहाँका किसानको जीवनस्तरमा सकरात्मक परिवर्तन भएको जलजला-७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यको भनाइ छ । बीउबाहेक यहाँ मौसमी तथा बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुने गरेको छ । 

यहाँका स्थानीयले धान, कोदो जस्ता अन्नबाली छाडेर तरकारी खेतीलाई मुख्य पेसाका रुपमा अपनाएका छन् । धाइरिङ बाहेक जिल्लाको फलेवास नगरपालिका-१० कर्घा, वडा नंं ११ पाङराङ र विहादी गाउँपालिका-१ बाच्छामा पनि काँक्रोको बीउ उत्पादन हुँदै आएको छ । (रासस)

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता