हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाउनुभएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता लामा साउन ८ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । कुल ११० सदस्य रहेको बागमती प्रदेश सभाको मंगलबारको बैठकमा मतदानहँुँदा उपस्थित १०३ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । विश्वासको मतका लागि भएको मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए । मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मतको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले)का सांसदहरुले मतदान गर्नु भएको थियो । भने नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली का सांसदहरुले विपक्षमा मत दिनु भएको थियो । यसैगरी नेपाल मजदुर किसान पाटीका सांसदहरु मतदानमा तटस्थ रहनुभएको थियो ।
साझा अर्थ संवाददाता