काठमाडौँ, १८ असार : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण र आगामी साधारण सभा प्रयोजनका लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आज असार १८ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आफ्नो ३२ औँ वार्षिक साधारण सभा आगामी असार ३१ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्समा बिहान १०:३० बजे आह्वान गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४ दशमलव २८५७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। यसका साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव २२५६ प्रतिशत नगद लाभांश समेत दिने निर्णय भएको छ। नेपाल बिमा प्राधिकरणको असार ४ गतेको पत्रमार्फत स्वीकृति पाएको यस लाभांश प्रस्तावलाई साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा समेत रहेको छ।