काठमाडौँ, ९ असार
हिमालयन पावर पार्टनर लिमिटेडले सर्वसाधारण समूहको अविकसित हकप्रद सेयर लिलामीको बोलपत्र असार ९ गते खोलेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्साल, काठमाडौँस्थित कार्यालयमा दिउँसो २:३० बजेदेखि बोलपत्र खोल्ने प्रक्रिया सुरु गरिएको हो। कम्पनीले गत जेठ २७ गतेदेखि असार ४ गते बैंकिङ समयसम्म कुल ४ लाख ६८ हजार ७ सय ४० कित्ता सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलामीका लागि खुला गरेको थियो, जसमा व्यक्ति तथा कम्पनी दुवै आवेदन दिन योग्य थिए।
कम्पनीले यसअघि कायम सेयरधनीहरूका लागि १:०.५० (अर्थात् ५० प्रतिशत) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको बाँकी सेयर लिलामी गरेको हो। यस लिलामीका लागि न्यूनतम मूल्य प्रतिसेयर १०० रुपैयाँ र न्यूनतम आवेदन परिमाण १०० कित्ता तोकिएको थियो। बिक्री प्रबन्धकका अनुसार सर्वसाधारणतर्फको सेयरका लागि करिब २ हजार १ सय ७२ वटा आवेदन परेका छन्, जसको प्रारम्भिक कट-अफ मूल्य ३४५.१० रुपैयाँ कायम भएको छ। सबै चेकहरू मिलान र राफसाफ भएपछि यो कट-अफ मूल्यमा केही परिमार्जन हुन सक्नेछ। दोस्रो बजारमा कम्पनीको अन्तिम सेयर कारोबार प्रतिसेयर ३६९ रुपैयाँमा भएको थियो।