पात्रो

रेडियो

समाचार खोजी

राहुघाट जलविद्युत् आयोजनाको प्रमुख सुरुङमा पानिभर्न थालियो

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

काठमाडौः म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको प्रमुख सुरुङमा आइतवार पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको यस आयोजनाको दग्नाम र झिँको सिमानामा रहेको बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको २.२७ किलोमिटर मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको हो।

कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार पहिलो दिन १ हजार ६०० मिटर सुरुङमा पानी भरिएको छ। करिब चार दिनभित्र सम्पूर्ण सुरुङमा पानी भर्ने र १५ दिनपछि विद्युत् उत्पादनका लागि तयार गर्ने लक्ष्य रहेको उनले बताए। यसअघि बाँध, डिसेन्डर (पानी थिर्ग्याउने पोखरी) र स्वीचयार्डको परीक्षण सफल भइसकेको छ। पानी भर्ने क्रममा कुनै समस्या नआएमा विद्युत्गृहमा रहेका २०/२० मेगावाटका दुई मध्ये एक युनिटबाट परीक्षण उत्पादन सुरु गरिनेछ।

तिल्केनीचौरमा निर्मित विद्युत्गृहमा रङरोगन थालिएको छ भने एउटा युनिट जडान सकिएको र अर्कोको जडान अन्तिम चरणमा छ। उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ।

भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले ६ अर्ब रुपियाँमा ४५ महिनाभित्र सक्ने गरी २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो। कोरोना महामारी, बाढीपहिरो र निर्माण सामग्री अभावले ढिलाइ भई तेस्रो पटक म्याद थपिएको छ। इलेक्ट्रोमेकानीकल ठेक्का भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा २०७६ कात्तिकमा भएको थियो।

यो आयोजना भारतीय एक्जिम बैंकको ६.७ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण, नेपाल विद्युत् प्राधिकरण र सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको हो। २०७२ मा पुरानो ठेकेदार आइभीआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाइएको थियो। उत्पादित विद्युत् कालीगण्डकी कोरीडोरअन्तर्गत दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लिलो माध्यमबाट जडान गरिनेछ र चारवटा टावर निर्माण सकिएको छ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु