पात्रो

रेडियो

समाचार खोजी

राहुघाट जलविद्युत् आयोजना (४० मेगावाट) को भौतिक संरचना परीक्षण सुरु

साझा अर्थ संवाददाता ६ असार २०८३, शनिवार

काठमाडाै‌ः राहुघाट जलविद्युत् आयोजना (४० मेगावाट) को भौतिक संरचना परीक्षण सुरु भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ र ५ मा रहेको बाँध, ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो। प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार बाँधको डिसेन्डरमा शुक्रबार पानी हालिएको थियो र आइतबारदेखि सुरुङमा पानी भरिनेछ। संरचना र विद्युत्गृहका उपकरणको परीक्षणपछि आयोजना उत्पादन चरणमा प्रवेश गर्नेछ।

तिल्केनीचौरमा विद्युत्गृहको निर्माण सकिएर रङरोगन थालिएको छ। एउटा २० मेगावाटको युनिट जडान भइसकेको छ भने अर्कोको जडान अन्तिम चरणमा छ। विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न स्विचयार्ड जेठ २५ देखि सञ्चालनमा आएको छ।

भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले २०७४ मङ्सिरमा रु ६ अर्बमा ठेक्का पाएको थियो। कोरोना, बाढीपहिरो र निर्माण सामग्री अभावका कारण ढिलाइ भएको थियो, र तेस्रो पटक म्याद थपेर २०२५ नोभेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। इलेक्ट्रोमेकानिकल ठेक्का भारत हेभी इलेक्ट्रिकल्स (भेल) सँग २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भएको थियो।

आयोजना भारतीय एक्जिम बैङ्कको ६७ मिलियन डलर सहुलियत ऋण, प्राधिकरण र सरकारको लगानीमा इपिसी प्रारुपमा सञ्चालन गरिएको हो। २०७२ मा पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रिया अघि बढाइएको थियो। जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ। उत्पादित विद्युत् कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी दाना–कुश्मा प्रसारण लाइनमा जोडिनेछ, जसका ४ टावर र लाइन निर्माण सकिएको आयोजना कार्यालयले जनाएको छ।

 
 
51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ