काठमाडौँ, १२ जेठ: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले डंगोलको नियुक्तिबारे औपचारिक जानकारी दिनुभएको हो। प्राधिकरणमा लामो समयदेखि नेतृत्व परिवर्तन र उड्डयन क्षेत्रको सुदृढीकरणको माग उठिरहेका बेला सरकारले सहसचिव डंगोललाई यो जिम्मेवारी दिएको हो। नवनियुक्त महानिर्देशक डंगोलसामु नेपालको हवाई सुरक्षामा सुधार गर्ने, युरोपेली सङ्घ (ईयू) को कालोसूचीबाट नेपाललाई हटाउन पहल गर्ने र निर्माणाधीन तथा सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूको व्यवस्थापन चुस्त बनाउने मुख्य चुनौती रहेका छन्।