पात्रो

रेडियो

समाचार खोजी

याम्बालिङ हाइड्रोपावरको आइपिओ प्रस्ताव सार्वजनिक, सिन्धुपाल्चोकका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा सेयर

साझा अर्थ संवाददाता २८ फागुन २०८२, बिहिवार

काठमाडौँ : याम्बालिङ हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न प्रस्ताव पत्र सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयका लागि आइपिओ आवेदन चैत ८ देखि चैत २२, २०८२ सम्म खुला रहनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ७, २०८३ सम्म म्याद थप हुन सक्नेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आवेदन चैत ८ देखि चैत ११ सम्म खुला रहनेछ र आवश्यक परे चैत २२ सम्म म्याद थप गर्न सकिनेछ।

कम्पनीको जारी पूँजी ७० करोड रुपैयाँ रहेको छ। सो पूँजीको ४० प्रतिशत अर्थात् २८ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। यसमध्ये १० प्रतिशत अर्थात् ७ लाख कित्ता सेयर (७ करोड रुपैयाँ बराबर) सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। बाँकी ३० प्रतिशत अर्थात् २१ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारणलाई छुट्याइएको २१ लाख कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ।

आयोजना प्रभावित स्थानीयका लागि न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यस सार्वजनिक निष्कासनको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई केयर–एनपी बीबी– (इश्यूअर रेटिङ) पुनः पुष्टि गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

सन् २००७ मा स्थापना भई २०२१ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको याम्बालिङ हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोकमा ७.२७ मेगावाट क्षमताको रन अफ रिभर प्रकारको याम्बालिङ खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ। बुट (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) मोडेलमा निर्माण भएको उक्त आयोजना सन् २०२४ फेब्रुअरी २० देखि व्यावसायिक उत्पादनमा आएको कम्पनीले जनाएको छ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ