पात्रो

रेडियो

समाचार खोजी

कर्जा गुणस्तर सुधारका लागि ऋणी प्रोफाइलिङ आवश्यक : अर्थमन्त्री खनाल

साझा अर्थ संवाददाता ११ माघ २०८२, आइतवार

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले ऋणीको चरित्र, मनोभाव र विगतको व्यवहार विश्लेषण गर्ने ‘प्रोफाइलिङ’ प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ६१ औँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले बैङ्कका कर्मचारीमाथि ऋणीबाटै आक्रमण बढेकाले प्रोफाइलिङ प्रणाली आवश्यक भएको बताउनुभयो । ‘केवाइसी’ लाई केवल नियामक दायित्वका रूपमा नभई कर्जाको गुणस्तर सुनिश्चित गर्ने उपकरणका रूपमा लिनुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा अर्थमन्त्री खनालले बैङ्कहरूले उद्यमीको प्रस्ताव मात्र पर्खिन नहुने बताउनुभयो । आफैँ अनुसन्धानमा आधारित लगानीका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने उहाँको सुझाव थियो । यसले उत्पादनशील कर्जाको प्रवाह बढाउने र बजारमा स्रोतको कुशल विनियोजन ल्याउने उहाँको भनाइ थियो ।
बैङ्किङ क्षेत्रमा अनुसन्धानको बलियो परम्परा नहुनु ठुलो कमजोरी भएको उहाँको भनाइ थियो । “नेपालमा कुनै आर्थिक घटना हुँदा बैङ्कका सिइओ वा अनुसन्धान विभागका प्रमुखलाई होइन, पूर्वअर्थमन्त्री वा स्वतन्त्र अर्थविद्लाई सोध्ने चलन छ,” उहाँले भन्नुभयो, “जबकि विकसित मुलुकमा बैङ्ककै अनुसन्धान टोलीले यस्ता विषयमा नेतृत्व लिन्छ ।”
सो क्रममा अर्थमन्त्री खनालले अन्तर्राष्ट्रिय मूल्याङ्कनका आधारमा नेपाल अहिले सम्पत्ति शद्धीकरणको ‘खैरो सूची’ मा रहँदा अन्तर्राष्ट्रिय व्यापार, लगानी र वित्तीय कारोबारमा चुनौती ल्याउन सक्ने बताउनुभयो । त्यसैलाई ध्यानमा राखेर माघ १ देखि नगद कारोबारको सीमा घटाइएको र डिजिटल तथा भर्चुअल बैङ्किङलाई प्रोत्साहन गरिएको उहाँले जानकारी दिनुभयो ।
अर्थमन्त्रीले मुलुकमा भित्रिने ठुलो परिमाणको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न बैङ्क तथा वित्तीय संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । रेमिट्यान्स व्यक्तिगत आय भए पनि बैङ्किङ प्रणालीमार्फत जम्मा हुने भएकाले त्यसको उत्पादनशील उपयोग गर्ने दायित्व बैङ्कमाथि आउने उहाँको धारणा बताउनुभयो ।
सरकारको करिब पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कले यसमा नेतृत्वदायी जिम्मेवारी लिनुपर्नेमा उहाँको जोड थियो । बैङ्कहरूले निक्षेपलाई सही ढङ्गले उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसके मुलुकको विकास सम्भव नहुने उहाँको भनाइ थियो ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले स्थापनाकालदेखि नै मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा बैङ्कले टेवा पु¥याउँदै आइरहेको बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले डिजिटल संसारका नवीनतम प्रविधिको समेत उपयोग गर्दै पारदर्शिता एवं जवाफदेहिता सहितको सेवा प्रवाह गर्न बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो ।
बैङ्कले सर्वसाधारण तथा संस्थागत गरी करिब ४७ लाखभन्दा बढी निक्षेपकर्ताबाट आर्थिक वर्ष २०८२/८३ को पुष मसान्तसम्ममा पाँच खर्ब ५० अर्ब निक्षेप सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । वित्तीय सुधार कार्यक्रम लागु भएपश्चात् आव २०६०/६१ देखि नै निरन्तर मुनाफा आर्जन गर्न बैङ्क सफल रहेको उहाँले बताउनुभयो । गत आवमा पनि बैङ्कले दुई अर्ब ८३ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको उहाँले जानकारी दिनुभयो ।
बैङ्कको विद्यमान पुँजी संरचना अनुसार नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्