पात्रो

रेडियो

समाचार खोजी

सेजनको वार्षिकोत्सवमा आर्थिक पत्रकारहरु पुरस्कृत

साझा अर्थ संवाददाता १६ मंसिर २०८२, मङ्गलवार

काठमाडौँ । आर्थिक पत्रकारहरुको छाता संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औं वार्षिकोत्सवको अवसरमा आर्थिक पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।
सेजनको सोमबार काठमाडौँमा आयोजित २९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधातर्फ सेजन अवार्ड र पुरस्कार वितरण गरिएको हो ।
सेजनका अनुसार एक लाख रुपियाँ राशिको सेजन अवार्ड दुई जना पत्रकारलाई प्रदान गरिएको छ । नयाँ पत्रिका दैनिकका पवन तिमल्सिना र अनलाइन खबर डटकमका भुवन पौडेललाई सेजन अवार्ड तथा पुरस्कार छनोट समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले घोषणा गर्नुभयो ।
यस्तै गोरखापत्र दैनिकका भेषराज बेल्बासे सञ्जय न्यौपाने फेलोसिप अवार्ड–२०८२ बाट पुरस्कृत हुनुभएको छ । एक लाख रुपियाँ राशीको सञ्जय न्यौपाने फेलोसिप अवार्ड–२०८२ बाट बेल्बासेलाई पुरस्कृत गरिएको हो । सेजनका पूर्वउपाध्यक्ष स्व. सञ्जय न्यौपानेको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
त्यसैगरी ५० हजार रुपियाँ राशिको सेजन छापामाध्यमतर्फको अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई प्रदान गरिएको छ । साथै ५० हजार रुपियाँ राशिको सेजन डिजिटलमाध्यमतर्फको अवार्ड बिजमाण्डू डटकमका सुनिल कुँवरलाई प्रदान गरिएको छ ।
साथै एक लाख रुपियाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड दुई पत्रकारलाई प्रदान गरिएको छ । सेजनका अनुसार उक्त अन्नपूर्ण डटकमका सुनिता कार्की र नेपालन्यूज डटकमका उद्धव थापालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
अवार्ड तथा पुरस्कार छनोट निर्णायक समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले सबै अवार्ड विजेता र लेखनवृत्ति प्राप्त गर्ने सबैको नाम औपचारिक रूपमा घोषणा गर्नुभएको थियो ।
समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड बिजेता पत्रकारहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभएको थियो ।
सो अवसरमा सेजनका पूर्वकार्यसमिति सदस्य स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।
फूटसल प्रतियोगिताका विजेता पुरुष र महिला विजेता टोलीलाई जनही १५ हजार रुपियाँ, पदक र ट्रफी प्रदान गरियो भने पुरुषतर्फको उपबिजेता टोलीलाई १० हजार रुपियाँ, पदक र ट्रफी प्रदान गरियो । साथै प्रतियोगिताका उत्कृष्ट गोलकर्ता उजिर कार्कीलाई दुई हजार ५०० रुपियाँ र गोल्डेनबुट प्रदान गरियो भने उत्कृष्ट गोलरक्षक केदारप्रसाद दाहाललाई गोल्डेन ह्यान्ड प्रदान गरियो । फूटसल प्रतियोगितामा पुरुषतर्फ छ टोली र महिलातर्फ दुई टोलीको सहभागिता थियो ।

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ