काठमाडौ :नेपाल निर्माण व्यवसायी महासंघले वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका श्रमिकको वास्तविक लगत राखी क्षमता तथा योग्यताअनुसार निर्माण व्यवसायमा आबद्ध गराउन प्रस्ताव गरेको छ । महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो प्रस्ताव गरेको हो ।
निर्माण क्षेत्रमा भारतबाट श्रमिक ल्याउनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न राज्यले एकद्वार प्रणालीमार्फत तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष सिंहले महासंघले सुरु गर्न लागेको तालिम केन्द्र सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । मुलुकमा निर्माण उद्योगले २० लाखभन्दा बढी जनालाई रोजगारी दिइरहेको उल्लेख गर्दै उहाँले स्वदेशमा श्रमिकको अभाव भएर भारतबाट मजदुर ल्याउनुपर्ने अवस्था अन्त्य गरिनुपर्ने मा जोड दिनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीअन्तर्गत निर्माण क्षेत्रमा जाने श्रमिकलाई दक्ष बनाउन महासंघसाग सहकार्य गर्दै तालिम दिइने बताउनुभयो ।
साझा अर्थ संवाददाता