पात्रो

रेडियो

समाचार खोजी

पोखरा महानगरको आगामी वर्षको बजेट सात अर्ब १५ करोड,

साझा अर्थ संवाददाता ६ असार २०८३, शनिवार

कास्की, ६ असार : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु सात अर्ब १५ करोड २५ लाखको बजेट विनियोजन गरेको छ। महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रवार पोखरा सभागृहमा सम्पन्न १९ औं नगरसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो। चालु आर्थिक वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षको बजेट भने रु एक अर्ब १९ करोड ८७ लाखले घटाएको छ।

बजेटको मुख्य स्रोतहरूमा सङ्घीय सरकारको सशर्त अनुदान रु दुई अर्ब ६१ करोड ९१ लाख, समानीकरण अनुदान रु ४९ करोड ३७ लाख, राजस्व बाँडफाँटबापत रु ३४ करोड ३४ लाख ७३ हजार रहेका छन्। त्यस्तै, गण्डकी प्रदेश सरकारबाट समपूरक, विशेष र समानीकरण अनुदान गरी रु आठ करोड ५५ लाख ३६ हजार प्राप्त हुने अनुमान छ। आन्तरिक स्रोततर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार र राजस्व बाँडफाँट स्थानीय तहतर्फ रु एक अर्ब ३१ लाख १४ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुने प्रक्षेपण गरिएको छ।

बजेटको मुख्य उद्देश्य वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने र वातावरणमैत्री तथा दिगो सहरी विकास प्रवद्र्धन गर्ने रहेको उपप्रमुख गुरुङले बताउनुभयो। चालु खर्च नियन्त्रण, राजस्व सुधार योजना, निजी क्षेत्रको लगानी आकर्षण, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्य बनाउने र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माणलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ।

विनियोजित बजेटमा फिर्केखोला कोरिडोर र पोखरा बसपार्कलगायतका सार्वजनिक जग्गा संरक्षणका लागि रु १० करोड विनियोजन गरिएको छ। पूर्वाधारतर्फ ६१ सडक आयोजना पूरा गर्न रु ५५ करोड ५० लाख ६३ हजार, पोखरा सभागृह पुनर्निर्माणका लागि रु पाँच करोड, फोहरमैला व्यवस्थापनका लागि रु १५ करोड र थप प्रभावित क्षेत्रका लागि रु पाँच करोड विनियोजन गरिएको छ। त्यस्तै, शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि रु एक करोड २० लाख, गण्डकी बहुप्राविधिक शिक्षालयका लागि रु दुई करोड ६० लाख, सामुदायिक विद्यालयमा नर्स कार्यक्रमका लागि रु तीन करोड र विपद् जोखिम न्यूनीकरणका लागि रु तीन करोड २४ लाख बजेट छुट्याइएको छ।

कृषि क्षेत्रको उत्पादन बढाउन रु तीन करोड ६८ लाख, उद्यम तथा रोजगारी सिर्जनाका लागि रु एक करोड २५ लाख, पर्यटन प्रवद्र्धनमा रु ६० लाख र खेल पर्यटनका लागि रु ६६ लाख विनियोजन गरिएको छ। चालु वर्षको बजेट भने जेठ मसान्तसम्ममा जम्मा ४० प्रतिशत मात्र खर्च भएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो।

53 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु