झापा: पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो ।
चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् रु पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो । भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहालले बताउनु भयो । उहाँका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्ने उहाँको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता