काठमाडौंः संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा नगरपालिका वडा नम्बर ४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको आज यहाँ अवलोकन गर्नुहुँदै पूर्व राष्ट्रपती यादवले सो कुरामा जोड दिनु भएको हो ।
रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायको ध्यान यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवले बताउनुभयो । चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको को भनाई थियो । पहिले गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा अहिले त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उहाँको भनाइ थियो । सो अवसरमा रैथाने एग्रो प्रोडक्ट्स् नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अर्ग्यानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी गराउनुभएको थियो ।
साझा अर्थ संवाददाता