काठमाडौंः मानव सेवा आश्रमले आफ्नो १३ औं स्थापना दिवस विभिन्न कार्यक्रमकासाथ मनाएको छ । आश्रमले आज विभिन्न कार्यक्रमकासाथ स्थापना दिवस मनाएको हो ।
समाजलाई सकारात्मक दिशातर्फ रुपान्तरण गर्दै मानवीय सेवामा समर्पित मानवसेवा आश्रम स्थापनाको १२औँ वर्ष पूरा भई १३औँ वर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रव्यापी रुपमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरेको आश्रमले जनाएको छ । देशका १९ ओटै जिल्ला शाखाको आयोजना तथा स्थानीय अभिभावक, शुभेच्छुक तथा विभिन्न सामाजिक संस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । विश्व शान्तिको कामना गर्दै सेवा केन्द्रहरुमा आज साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ ।
खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित मानवसेवा आश्रम २०६९ भदौ १३ गते स्थापना भएको थियो । मकवानपुर, हेटौँडामा मुख्य कार्यालय रहेको यसका २४ ओटा सेवा केन्द्रहरु रहेका छन् ।
साझा अर्थ संवाददाता