लतिलपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले आगामी दुई महिनाभित्रमा पशु कल्याण ऐन जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
ऐन कुन ढंगबाट चाँडो ल्याउन सकिन्छ त्यसतर्फ लागेको बताउँदै मन्त्री अधिकारीले ऐनको विषयमा सरोकारवालासँग छलफल गरेर दुई तीन महिनाभित्र ऐन ल्याउने गरी तयारी गर्ने जानकारी दिनुभयो ।
नेपाल फार्मस एडभाइजरी काउन्सिल र स्नेहाज केयरले आयोजना गरेको ‘नेपालमा पशू कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सबै अहिले जस्तै भए दुई महिनाभित्र ऐन जारी गरिने बताउनुभयो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य बिजुला रायमाझीले पशु कल्याण ऐनको आवश्यकता औंल्याउँदै अहिलेसम्म भएका कानुनको अक्षरश कार्यान्वयन गर्न सके पनि समस्या धेरै समाधान हुने बताउनुभयो ।
उहाँले पशु कल्याणको विषय निकै महत्वपूर्ण रहेकोले सबै प्राणिहरुको बाँच्ने अधिकारलाई सुनिश्चित गर्नेगरि समितिमा दफादार छलफल गरिने र त्यसमा आफूले भरपूर प्रयत्न गर्ने बताउनुभयो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकै सदस्य रञ्जिता श्रेष्ठले जनावरहरुको लागि बोलिदिने कोहि नभएकोले पशु कल्याण ऐन निर्माण गर्ने कार्यमा आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
नेपाल फार्मर्स एडभाईजरि काउन्सिलका अध्यक्ष एवम् पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशहरुभन्दा दुई सय वर्ष पछाडि रहेको र छिमेकी भारतमा समेत १९६० मै पशु कल्याण ऐन जारी गरि सन् १९६२ मा शक्तिशाली पशु कल्याण बोर्ड नै स्थापना भएको जानकारी दिंदै नेपालले पनि त्यसबाट धेरै सिक्नुपर्ने बताउनुभयो । कानुन निर्माणमा नेपाल सरकारको उदासिनता देखिएको उहाँको भनाई थियो ।
लतिलपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले संघीय पशु कल्याण ऐन जारी भएपछिको लगत्तैको हिउँदे वा वर्षे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठले नेपालमा पशु कल्याण कानुन र अदालत विषयमा प्रस्तुति गर्दै पशु कल्याणको वर्तमान अवस्था र कानूनी प्रावधानहरुका सम्बन्धमा प्रस्ट पार्दै पशु कल्याण ऐनलाई एकिकृत कानुनको रुपमा नभई छुट्टै कानुनको रुपमा ल्याउनुपर्नेमा उहाँको विशेष जोड थियो । उहाँले सम्मानित सर्वोच्च अदालतबाट भएका परमादेशहरुको मर्मबमोजिम पनि छुट्टै पशु कल्याण ऐन ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले नेपालमा पशु कल्याणः आवश्यकता र महत्व विषयमा प्रस्तुतिकरण गर्दै नेपालमा पशु कल्याणको वर्तमान अवस्था, पशु कल्याण ऐन, पशु कल्याणको महत्व र आवश्यकता तथा पशु कल्याणका लागि संस्थाले गरेका क्रियाकलापहरु सम्बन्धमा पष्ट्याउनु भयो । उहाँले नेपालमा पशु कल्याण ऐन पशु कल्याण अभियन्ताहरुको लागि बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरि लागु गर्नुपर्ने र समयसापेक्ष संशोधन गर्दै जानुपर्ने बताउनुभयो ।
साझा अर्थ संवाददाता