४६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित बलेफी नदीमा अपर बलेफी हाइड्रोपावरले बनाउन लागेको उक्त परियोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले कुल सात अर्ब सात करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।
परियोजनाको कुल लागत नाै अर्ब ४३ करोड रुपैयाँ छ। त्यसको ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच लक्ष्मी सनराइजसहित सहवित्तीयकरणमा सहभागी बैंकहरू र अपर बलेफी हाइड्रोपावर कम्पनीबिच ऋण लगानी सम्झौता भएको छ ।
सम्झौताअनुसार परियोजनामा लक्ष्मी सनराइजले चार अर्ब सात करोड, कृषि विकास बैंकले एक अर्ब ५० करोड, नेपाल एसबिआई बैंकले एक अर्ब र माछापुच्छ्रे बैंकको ५० करोड रुपैयाँ लगानी गर्नेछन् । बाँकी लगानी कम्पनीले स्वपुँजीको रूपमा लगानी गर्नेछ ।
अपर बलेफी हाइड्रोपावरले ०७८ साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमतिपत्र लिएको थियो। २०८० साल मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौतासमेत भइसकेको छ। आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब २७४.८९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।
फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीषराज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदीपकुमार दाहाल, नेपाल एसबिआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक विनीतचन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जयकुमार साहले हस्ताक्षर गरेका छन् ।
साझा अर्थ संवाददाता