पात्रो

रेडियो

समाचार खोजी

अर्थतन्त्र सुधारका लागि बैङ्कहरुको भूमिका पनि महत्वपूर्ण हुन्छ : अर्थमन्त्री

अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस

साझा अर्थ संवाददाता ११ माघ २०८१, शुक्रवार

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि बैङ्कहरुको भूमिका पनि महत्वपूर्ण हुने भन्दै तरलतालाई उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्कको बिहीबार राजधानीमा सम्पन्न ६० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहेको बताउँदै अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको बताउनुभयो ।
समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व बृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीब्रताका साथ सरकार लागिरहेको उहाँले बताउनुभयो ।
अहिले २९ वटा ऐन अध्यादेशका माध्यमबाट संशोधन गरेको जानकार दिंदै उहाँले भन्नुभयो – ‘‘ती अध्यादेशहरु सदन सुरु भएको पहिलो दिन नै सदनसमक्ष प्रस्तुत हुँदैछन् । ६० दिनभित्र अध्यादेशहरु अनुमोदित हुनेछन् । हामीसँग समय हुन्थ्यो भने योभन्दा फरक तरिकाले जान्थ्यौँ होला ।’’
समयको चापलाई ख्याल गरेर नागरिकहरुको निराशालाई आशामा बदल्नका लागि देशभित्र भविष्य छ भनेर भविष्य खोज्ने त्यस खालको अनुकूल परिस्थिति निर्माण गर्न ऐनहरुमा संशोधन गर्ने अध्यादेश अघि सारेको उहाँले बताउनुभयो । खासगरी अध्यादेशबाट गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न चाहेको भन्दै अर्थमन्त्री पौडेलले आन्तरिक र बाह्य लगानी लगानी अभिबृद्धि गर्ने, उत्पादन, उत्पादकत्व बृद्धि गर्न अध्यादेश ल्याएको बताउनुभयो ।
रावा बैङ्कले आफ्नो देशव्यापी शाखा सञ्जाल मार्फत मुलुकभरबाट निक्षेप परिचालन गरी कर्जा लगानी मार्फत मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएको भन्दै उहाँले लगानी प्रवद्र्धन, उत्पादन अभिबृद्धि तथा रोजगारी सिर्जनाका लागि वित्तीय स्रोत परिचालन गर्ने काममा यस बैङ्कले थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थागत सुदृढीकरण, व्यावसायिक क्षमता बृद्धि, आर्थिक अनुशासन, आधुनिक प्रविधिको प्रयोग र सेवा विस्तारमा अझ बढी जोड दिँदै निक्षेप परिचालन, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह र नवीनतम बैङ्किङ सेवा प्रदान गरी मुलुकको द्रुत आर्थिक विकासमा राष्ट्रिय वाणिज्य बैङकलाई थप सहयोगी बन्न आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वमा स्थापना भई सञ्चालनमा रहेको  बैंकले स्थापना कालदेखि नै ग्रामीण एवं दुर्गम स्थानहरूमा समेत आधारभूत बैंकिङ सेवा प्रदान गर्दै वित्तीय साधन र स्रोतको पहुँच विस्तारमा अग्रणी र उत्तरदायी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
लामो यात्रामा विभिन्न आरोह अवरोह पार गर्दै अगाडि बढिरहेको बैङ्कले अर्थतन्त्रका मुख्य आधारका रूपमा रहेका कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार विकास तथा साना मझौला व्यवसायको प्रवद्र्धनमा वित्तीय सेवा प्रवाह गर्दै आएको उहाँले बताउनुभयो ।
बैङ्कले आफ्नो ऐतिहासिक गरिमा कायम गर्दै प्रतिस्पर्धात्मक रूपमा कार्य सम्पादन गरी भविष्यमा समेत सफल बैङ्कका रूपमा स्थापित हुन आवश्यक कार्य सहज रूपमा गर्ने विश्वास गर्भनर अधिकारीले व्यक्त गर्नुभयो ।
सरकारी स्वामित्वको बैङ्क भएको हैसियतले बैङ्कले गर्ने कार्य सम्पादन अन्य बैङ्क तथा वित्तीय संस्थाका लागि समेत अनुकरणीय हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 
अत्याधुनिक प्रविधिको प्रयोगले ल्याएको परिवर्तित कार्य वातावरण समेतलाई ध्यान दिई संस्थागत कार्यदक्षतामा समयानुकूल सुधार गर्दै मुलुकमा वित्तीय सचेतना प्रवद्र्धन गर्ने कार्यमा समेत आगामी दिनमा  अग्रणी भूमिका निर्वाह गर्न बैङ्कलाई आग्रह गर्नुभयो ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल सरकारले प्राथमिकताप्राप्त क्षेत्र कृषि, उर्जा, पर्यटन तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न बैङ्क निरन्तर लागि परेको बताउनुभयो । उहाँले बैङ्कले सुन खरीद बिक्री गर्ने कार्य समेत शुरु गरेको बताउँदै बैङ्किङ सेवा सुविधाहरूमा गुणस्तरीयता अभिबृद्धि गर्दै अझ बढी विश्वसनीय, सुरक्षित, प्रविधियुक्त तथा ग्राहकमैत्री बनाउन प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैङ्कको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै भर्खरै आर्थिक वर्ष २०८०÷८१ को वार्षिक लेखापरीक्षण सम्पन्न गरेको बताउनुभयो । चालु आर्थिक वर्षको पुष मसान्तमा बैङ्कको कुल निक्षेप चार खर्ब ५० अर्ब, कुल कर्जा सापट दुई खर्ब ८४ अर्ब, चुक्ता पूँजी १५ अर्ब ६३ करोड, कुल सम्पत्ती पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ ५२ अर्ब पुगेको उहाँले बताउनुभयो । साथै पुस मसान्तमा बैङ्कको कोषको लागत ३.८१ प्रतिशत तथा आधारदर ५.४४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बैङ्कको ६० औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार २०८१ विमोचन गरिएको थियो । साथै बैङ्कका हालै सञ्चालनमा आएका २७ वटा शाखा कार्यालयहरुको डिजिटल माध्यमबाट औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
। वार्षिकोत्सवकै अवसरमा कोहलपुर र महेन्द्रनगरमा नवनिर्मित भवनहरुको डिजिटल माध्यमबाट उद्घाटन गर्नुका साथै पूर्वकर्मचारी सम्मान कार्यक्रमका साथै उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट-उत्कृष्ट बैङ्क सेवा पुरस्कार घोषणा गरिएको थियो ।

144 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ