पात्रो

रेडियो

समाचार खोजी

बैङ्किङ बजारमा निक्षेप सङ्कलनको तुलनामा कर्जाको माग नहुनु चुनौती : अर्थमन्त्री

आर्थिक गतिविधिमा क्रियाशीलता ल्याउनमा बैङ्किङ क्षेत्रको महत्वपूर्ण भूमिका

साझा अर्थ संवाददाता ८ माघ २०८१, मङ्गलवार

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले बैङ्किङ बजारमा निक्षेप सङ्कलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको बताउनुभएको छ ।
पछिल्लो समय समग्र अर्थतन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैङ्कहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु अगाडि बढाउन आग्रह गर्नुभयो ।
कृषि विकास बैङ्कको सोमबार राजधानीमा सम्पन्न ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले आम सर्वसाधारणको निक्षेप सुरक्षित गरी आर्थिक विकासका क्षेत्रमा कर्जा प्रवाह मार्फत आर्थिक गतिविधिमा क्रियाशीलता ल्याउनमा बैङ्किङ क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै कृषि विकास बैंकले विगतमा यस दिशामा लिएको क्रियाशीलता महत्वपूर्ण रहेको बताउनुभयो ।
मुलुकमा वित्तीय समावेशीकरण, उद्यमशीलता विकास तथा राष्ट्रिय बचतलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न बैंकले आगामी दिनमा अझ बढी योगदान गर्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।
सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिता, डिजिटल बैङ्किङ कारोबारको विस्तार, लघु, साना, मझौला एवम् कृषि उद्यमहरुको वित्तीय पहुँचमा विस्तार, हरित अर्थतन्त्रलाई प्रोत्साहन र वित्तीय साक्षरता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन बैङ्कले नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैङ्कहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो । पछिल्लो समय बैङकिङ बजारमा केहि चुनौती भए पनि पालना गर्नु न्यूनतम नियमको पालना गर्दै कषि विकास बैंकले गत आर्थिक वर्षमा गरेको प्रगतिले बैङ्कका कर्मचारीहरुलाई मात्र नभई बैङ्कको हित चाहने ग्राहकलगायत सम्पूर्णलाई उत्साहित बनाएको बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले गत आर्थिक वर्षको लेखापरिक्षण पश्चातको परिष्कृत वित्तीय विवरण अनुसार चार अर्ब १३ करोड सञ्चालन मुनाफा तथा दुई अर्र्ब ८९ करोड खुद मुनाफा गर्न सफल भई अघिल्लो आर्थिक वर्षको तुलनामा २१७ प्रतिशतले बृद्धि गर्न सपल भएको जानकारी दिनुभयो ।
हाल सञ्चालनमा रहेका २० वटा क वर्गका वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०/८१ मा गरेको खुद मुनाफाको तुलनामा कृषि विकास बैङ्कले सातौं स्थान प्राप्त गर्न सफल भएको पनि उहाँको भनाई छ ।
आर्थिक वर्ष २०८०/८१ लागि बैंकले ७.५३ प्रतिशत नगद लाभांश तथा तीन प्रतिशत बोनस सेयर गरी कूल १०.५३ प्रतिशत बोनस तथा लाभांश वितरण गरेको उहाँले बताउनुभयो । यसैगरी आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गर्ने ११ वटा बैंकहरुमध्ये बैङ्कले चौंथो बढी लाभांश वितरण गर्न सफल भएको बैङ्कका प्रमुख कार्यकारी अधिकत गुरुङले बताउनुभयो ।
बैङ्क सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्यायलगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो ।
वार्षिकोत्सव समारोहमा बैङ्कको नयाँ वेब साइटको शुभारम्भ गरिएको थियो । त्यसैगरी बैङ्कले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि विमोचन गरिएको थियो । साथै सो अवसरमा बैङ्कमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो ।

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ