पात्रो

रेडियो

समाचार खोजी

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

साझा अर्थ संवाददाता २५ पुष २०८१, बिहिवार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २५ पुसः चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । 

    यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउनुभएको छ । “आश्रम पत्ता लगाउने बेला गरिएको उत्खननमा भेटिएका भग्नावशेषहरू पनि संरक्षणको अभावमा हराउने गरेका छन् । मन्दिर वरिपरि पुरातात्विक अवशेषहरू जताततै छरिएका छन्, तिनको संरक्षण र थप विकास आवश्यक  छ । यसमा स्थानीयदेखि सङ्घीय सरकारले विशेष पहल गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । 

    माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले वाल्मीकि आश्रम मन्दिरलाई संरक्षण, सम्वर्द्धन र विकास लागि पहल भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाले यस क्षेत्रलाई धार्मिक वनका रूपमा विकास गर्ने सोच बनाए पनि राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले समस्या रहेको बताउनुभयो ।  

    माडी–१ का वडाअध्यक्ष अमितकुमार लामाले वडास्तरबाट हुने खानेपानी र शौचालयलगायतका काम गरिए पनि अन्य पूर्वाधार र संरक्षणका काममा सरकारकै पहल जरूरी रहेको बताउनुभयो । उहाँले आश्रम पुग्नका लागि भारतको विहार हुँदै जानुपर्ने बाध्यता रहेको र केही महिनाअघि निकुञ्जको जङ्गलमा गोरेटो बाटो बनाइए पनि समस्या समाधान नभएको बताउनुभयो । उक्त बाटो प्रयोग गर्दा जङ्गली जनावरले आक्रमण गर्ने जोखिम रहेकाले समस्या रहेको श्रद्धालुहरूले बताउने गरेका छन् । रासस

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्