काठमाडौं,१० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो ।
मंगलवार नै राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण गर्दै नेपालको संविधान २०७२ मा महत्वपूर्ण संशोधन गर्ने प्रस्ताव गरेको छ । चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाविधेशनमा अर्थराजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उपसभापति एवं अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पार्टीको सङ्ख्या र सामर्थ्य पुगेका दिन संविधान परिमार्जन गरिने बताउनुभयो ।
जवाफदेहीपूर्ण असल शासनको विधिमा बाँधिएर समुन्नतिको यात्रा तय गर्ने उद्घोष गर्दै रास्वपाले शासकीय शक्तिको सङ्ग्रह र उपयोग गर्न आवधिक निर्वाचनबाट संसद् र सरकार बनाउने तथा विधिको शासनमार्फत शासकीय शक्तिको सीमा तोक्ने उल्लेख गरेको छ ।
वाग्लेले राज्यको संरचनात्मक रुपान्तरण शान्तिपूर्ण राजनीतिक परितालनको स्वतन्त्र एवं मर्यादित अभ्यास, बहुआयामिक विविधताको न्यायोचित व्यवस्थापन एवं विभेद र विषमताको विसर्जनबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ ।
रास्वपाले आफूलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बुहलवादी लोकतान्त्रिक पार्टीका रुपमा चिनाउँदै वैयत्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूति र जवाफदेहीपूर्ण असल शासनमार्फत समावेशी राज्य निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।