पात्रो

रेडियो

समाचार खोजी

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

साझा अर्थ संवाददाता २४ मंसिर २०८१, सोमवार

म्याग्दी (बेनी), २४ मङ्सिरः अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ । 

“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उहाँले भन्नुभयो । 

जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउनुहुन्छ । दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताउनुभयो । 

“फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् । 

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताउनुभयो । “बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भएपनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो । 

घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हँुदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।  रासस

229 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्