कञ्चनपुरः पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले निर्वाधरुपमा जान पाउने भएका छन् । भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेपछि पर्यटकहरुले निर्वाध रुपमा जान पाउने भएका हुन् ।
भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर्यटकको आगमनका लागि प्रस्थान(डिपार्चर) खुला गरेको अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिनुुभयो । १० डिसेम्बर २०२१ देखि भारतीय सीमावर्ती बनबसा अध्यागमन(इमिग्रेसन) कार्यालयले विदेशी पर्यटकको आगमन बन्द गरेको थियो । कोराना महामारीका बेला नेपालका केही सीमा नाका मात्रै भारततर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको थियो । गड्डाचौकी नाका भएर जाने विदेशी पर्यटकलाई भारतले रोक लगाएको थियो ।
केन्द्रबाटै केही सीमा नाका मात्रै भारत तर्फ जाने विदेशी पर्यटकका लागि खुला गर्ने निणर्यअनुसार त्यस बेलादेखि रोकिएको उहाँको भनाइ छ । विदेशी पर्यटकका लागि सीमा नाका खुला गरिएकाले पर्यटकलाई पठाउनका लागि भारतीय अध्यागमन कार्यालयले जानकारी दिएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।
साझा अर्थ संवाददाता