काठमाडौँ : कोदोको संरक्षण र उत्पादनमा जोड दिनुपर्नेमा जोड दिइएको छ । चौथो राष्ट्रिय कोदो दिवस मनाउन ललितपुरको खोक नामा आयोजित एक कार्यक्रमा उक्त कुरामा जोड दिइएको हो ।
कार्र्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले कोदो राष्ट्रिय दिवसको घोषणा गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो । कोदोको महत्वका बारेमा सरकार जानकार रहेकाले केही दिनमै कोदोजन्य बाली प्रवर्द्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको उहाँको भनाई थियो । कार्यक्रममा मन्त्री अधिकारीले कोदो उत्पादनलाई प्रोत्साहनका निम्ति मन्त्रालयको चमेना गृहले कोदोका परिकार नियमित बनाउने गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय कृषक समूह महासंघ र एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) को आयोजनामा सम्पन्न कार्यक्रममा पोषकीय महत्व बोकेको कोदोबालीको प्रवर्द्धनका लागि काम गर्नुपर्नेमा जोड दिइएको थियो । अनाज र महासंघले सरकारलाई दिवस घोषणाको निणर्य गराउन माग गर्दै हरेक वर्ष साउन १५ मा यो दिवस मनाउँदै आएको छ ।
कार्यक्रमका बक्ताहरुले भविष्यको खाद्य संकट टार्न पनि कोदोको संरक्षण गर्नु पर्नेमा जोड दिनु भएको थियो । कोदो उचित तरिकाले भण्डारण गरे लामो समय सम्म सुरक्षित रहन्छ । कु अन्न भनिने गरेपनि पानी नलाग्ने पाखो जमिनमा समेत यस्को खेती गर्न सकिने भएकोले यो महत्वपूर्ण खाद्य बालिको रुपमा लिइने गरिन्छ ।
साझा अर्थ संवाददाता