काठमाडौँ, २८ जेठ :साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। बुधबारको झिनो सुधारलाई निरन्तरता दिन नसक्दा आज नेप्से परिसूचक ८.१४ अङ्क (०.२९ प्रतिशत) ले घटेर २,७२८.०३ को विन्दुमा बन्द भएको छ।
परिसूचकसँगै आज सेयर बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ओरालो लागेको छ। बुधबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आज कुल ९२ लाख ३१ हजार २१६ कित्ता सेयर मात्रै किनबेच हुँदा कुल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ।
मङ्गलवार साढे ६ अर्ब नजिक पुगेको कारोबार रकम लगातार घट्दै ४ अर्ब भन्दा तल ओर्लिनुले लगानीकर्ताहरूमा अझै पनि 'पर्ख र हेर' को अवस्था कायमै रहेको देखाउँछ।