काठमाडौँ, २८ जेठ: विश्व फुटबलकै सबैभन्दा ठुलो महाकुम्भ फिफा विश्वकप २०२६ आज जुन ११ तारिखदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा सुरु हुँदैछ। इतिहासमै पहिलोपटक ४८ राष्ट्रहरूले सहभागिता जनाउन लागेको यो ३९ दिने भव्य प्रतियोगिताको पहिलो खेल आज मेक्सिको सिटीस्थित ऐतिहासिक रङ्गशालामा आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल सुरु हुनुअघि आयोजना हुने उद्घाटन समारोहमा शाकिरा, बर्न ब्वाई र जे बाल्भिन जस्ता विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिने तय भएको छ। प्रतियोगिताको संचरना निकै विशाल भएकाले यसपटक आयोजकहरूले तीनवटै आयोजक राष्ट्रहरूमा छुट्टाछुट्टै उद्घाटन समारोह गर्ने विशेष व्यवस्था गरेका छन्। जसअन्तर्गत भोलि जुन १२ मा अमेरिका र क्यानडाले आ–आफ्ना राष्ट्रिय टोलीको खेल हुनुभन्दा अगाडि आधिकारिक उद्घाटन समारोह आयोजना गर्नेछन्। कुल १०४ खेलहरू खेलिने यस ऐतिहासिक विश्वकपको फाइनल भिडन्त भने आगामी जुलाई १९ मा न्यूयोर्क न्यूजर्सी रङ्गशालामा हुनेछ।