काठमाडौँ, २८ जेठः सुदूरपश्चिम प्रदेशका २६ पालिकाले विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले कडा चेतावनी दिएको छ। मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउन चासो नदेखाएको हो। अब ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई प्रत्यक्ष बिक्री गरिने मन्त्रालयको चेतावनी छ।
धान रोपाइँको मुख्य याम सुरु भइसके पनि मल ढुवानी नहुँदा किसान प्रभावित बन्न थालेका छन्। डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटी लगायतका जिल्लाका स्थानीय तहले तोकिएको मल नउठाएको तथ्याङ्क छ। कैलालीको गोदावारी नगरपालिकाले २१ हजार २३० किलो, गौरीजङ्गले ६ हजार ६९० किलो र धनगढी उपमहानगरले २१ हजार ५०० किलो मल उठाएको छैन। कञ्चनपुरको भीमदत्ताले एक लाख ६ हजार ८०० किलो र बेदकोटले एक लाख छ हजार ४०० किलो मल लैजान बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
अछामका साँफेबगर, बन्नीगढ जयगढ र कमल बजारले पनि मल उठाउन सकेका छैनन्। प्रदेशमा ४३ पालिकाले मल बिक्री गर्दै आए पनि हाल २६ पालिकाले मात्रै मल लिन बाँकी राखेको अवस्था छ। स्थानीय तहले रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न नसक्दा किसान समयमै मलविहीन भएको अवस्था छ। मन्त्रालयले समन्वय नगर्ने पालिकालाई कारबाहीको समेत चेतावनी दिएको छ। वर्षे धान रोपाइँ नजिकिँदै गर्दा मल वितरणमा भएको ढिलाइले उत्पादन प्रभावित हुने किसानको चिन्ता बढेको छ।