पात्रो

रेडियो

समाचार खोजी

तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट

साझा अर्थ संवाददाता २ जेठ २०८३, शनिवार
समाचार सारांश
  • शुक्रबार विश्वभरका शेयर बजारमा तेलको मूल्य वृद्धि र कृत्रिम बुद्धिमत्ता (AI) प्रविधि कम्पनीहरूको शेयरमा आएको तीव्र गिरावटले ठूलो गिरावट आएको छ।
  • बढ्दो तेलको मूल्यले लगानीकर्तामा आर्थिक चिन्ता र मुद्रास्फीतिको दबाब बढाएको छ, जसको मुख्य कारण मध्यपूर्वको द्वन्द्वले तेल आपूर्तिमा परेको असर हो।
  • अमेरिकी एस एन्ड पी ५००, डाउ जोन्स र नास्डाक सूचकाङ्क लगायत प्रमुख बजारहरू ओरालो लागेका छन्, यद्यपि विश्लेषकहरूले यसलाई अत्यधिक बढेको बजारमा स्वाभाविक गिरावट मानेका छन्।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौंः विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाको एस एन्ड पी पाँच सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १ दशमलव २ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क पाँच सय ३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १ दशमलव ५ प्रतिशतले घटेको बताइएको छ । पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीहरूको शेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो ।

कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको शेयर मात्रै ४ दशमलव ४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको शेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो । त्यस्तै माइक्रोन टेक्नोलोजीको शेयर ६ दशमलव ६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको शेयर मूल्य अझै पनि करिब १ सय ५४ प्रतिशतले माथि रहेको बताइएको छ ।

विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्‍याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ ।

यसबीच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्य बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ । तेल ट्याङ्करहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ । तेल मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको जनाइएको छ ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ