काठमाडौँ: परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ पासपोर्ट प्रणाली लागू गर्ने तयारी भइरहेकाले पासपोर्ट सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाएको छ। विभागले काठमाडौँबाट जारी गरेको सूचनामा नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी भइरहेको उल्लेख गरिएको छ।
हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण हुने क्रममा केही समय सेवा अवरुद्ध हुन सक्ने विभागले जनाएको छ। विभागका अनुसार जिल्ला प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली दूतावासबाट प्रदान गरिने राहदानी सेवा करिब १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै राहदानी विभागबाट उपलब्ध हुने सेवा करिब १ हप्तासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख गरिएको छ। नयाँ प्रणाली सुरु भएपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन १ देखि ३ महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ। यस अवधिमा राहदानी प्रक्रिया र वितरण सामान्यभन्दा केही ढिला हुन सक्ने सम्भावना रहेको छ।
त्यसैले आगामी ६ महिनाभित्र राहदानी आवश्यक पर्ने व्यक्तिहरूलाई प्रणाली परिवर्तन सुरु हुनुअघि नै आवेदन दिन विभागले अनुरोध गरेको छ। नयाँ प्रणाली र सेवा व्यवस्थाबारे थप जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।