काठमाडौँ : नेपाल आयल निगमले सम्भावित अन्तर्राष्ट्रिय आपूर्ति अवरोधको चिन्ता व्यक्त गर्दै सर्वसाधारणलाई आवश्यक मात्रामा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास प्रयोग गर्न आग्रह गरेको छ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा निगमले उपभोक्तालाई अनावश्यक रूपमा अतिरिक्त ग्यास सिलिन्डर भर्न वा सञ्चय नगर्न अनुरोध गरेको छ। साथै, खाना पकाउने लगायतका काममा एलपीजीमा अत्यधिक निर्भरता घटाउँदै सकेसम्म विद्युत् प्रयोग बढाउन पनि घरपरिवारलाई आग्रह गरिएको छ।
निगमका अनुसार नेपाल पेट्रोलियम पदार्थका लागि पूर्ण रूपमा आयातमा निर्भर रहेकोले अन्तर्राष्ट्रिय बजारको उतारचढावले देशको आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। अहिलेको विश्व परिस्थितिलाई ध्यानमा राख्दै इन्धनको प्रयोगमा सावधानी अपनाउनु आवश्यक रहेको निगमले जनाएको छ।
विज्ञप्तिअनुसार हाल देशमा पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण नियमित रूपमा सञ्चालनमा रहेको छ। तथापि, सम्भावित अभावको आशंकामा इन्धन वा एलपीजी सञ्चय नगर्न निगमले सर्वसाधारणलाई आग्रह गरेको छ।
निगमले ग्यास सिलिन्डर लुकाएर राख्ने, पेट्रोलियम पदार्थ वा एलपीजी चर्को मूल्यमा बेच्ने, वा नयाँ सिलिन्डरको अवैध कारोबार गर्ने व्यक्ति तथा व्यवसायमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
साथै उद्योगहरूलाई पनि सम्भव भएसम्म पेट्रोलियम पदार्थ र एलपीजीको प्रयोग घटाएर विद्युत् जस्ता वैकल्पिक ऊर्जाको प्रयोग बढाउन निगमले सुझाव दिएको छ। निगमका अनुसार हाल आपूर्ति अवस्था सामान्य रहे पनि मध्यपूर्व क्षेत्रमा जारी तनावका कारण अन्तर्राष्ट्रिय इन्धन बजार प्रभावित हुन सक्ने भएकाले नेपालमा समेत त्यसको असर पर्न सक्ने सम्भावना रहेको छ।