काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेर दिनभरका लागि कारोबार बन्द भएको छ। समग्र बजार तीव्र रूपमा उकालो लागेका बेला रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (आरएसएमएल) को सेयर भने घटेको छ। कम्पनीको सेयर १०.२० अंक अर्थात् १.४९ प्रतिशतले घटेर प्रतिकित्ता ६७५.३० रुपैयाँमा बन्द भएको छ। सो दिन कम्पनीको जम्मा १० कित्ता सेयर मात्र कारोबार भएको छ।
यसअघि चैत ३ गते भएको पछिल्लो कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ६८५.५० रुपैयाँमा बन्द भएको थियो। आज बजारमा तीव्र वृद्धि देखिए पनि आरएसएमएलको सेयरमा भने गिरावट आएको हो।
कम्पनीको सेयर फागुन ४ गतेदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो। कारोबार सुरु भएपछि कम्पनीको सेयर लगातार नौ दिनसम्म सकारात्मक सर्किट लागेको थियो। आज भने पहिलोपटक सेयर मूल्य घटेको देखिएको छ।
रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो। योग्य संस्थागत लगानीकर्ताबाट प्रतिकित्ता ९१२ रुपैयाँ कट–अफ मूल्य निर्धारण भएपछि सोभन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई आईपीओ बिक्री गरिएको थियो।