काठमाडौ: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा अकल्पनीय असर गरिरहेको बताउनु भएको छ । राणाले आज ललितपुरमा आयोजित एक कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सात वटा संस्थाको संयुक्त आयोजनामा ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयका अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्तव्य राख्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने क्रम तीव्र रुपमा बढिरहेको ले यसतर्फ सचेत भई काम गर्नु पर्ने बताउनु भयो । हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैलीमा मात्र नभई पूरै पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारिरहेको उहाँको भनाई थियो । जलवायु परिवर्तनका कारण निम्तिदै गएका सङ्कटका विषय अत्यन्तै गम्भीर भएर समयमै सोच्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री राणाले हिमालय क्षेत्रमा देखिएको असरकै कारण केही समयअघि पूर्वी नेपालको सोलुखुम्बू जिल्लाको थामेमा हिमनदी फुटेर असर परेको उल्लेख गर्नु भयो । जलवायु परिर्तनका कारण उत्पन्न हुने असर सीमाविहीन हुने भएकाले यसको असर कम गरेर हिमालको भविष्य बचाउनका लागि अन्तर्राष्ट्रिय रुपमा नै सबै देश एकताबद्ध भइ लागि पर्नुपर्नेमा मन्त्री राणाले जोड दिनुभयो ।
साझा अर्थ संवाददाता