काठमाडौं : 'स्वस्थ वृद्धावस्थाका लागि योग' भन्ने नाराका साथ आज २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६९औँ महासभामा योग सबैका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवस घोषणाको प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्यले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ।
नेपालमा भने विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिन पारेर योग दिवस मनाउन थालिएको थियो। डा. हरिप्रसाद पोखरेलको सक्रियतामा यसको सुरुवात भएको थियो। वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले प्रतिपादन गरेको योग नेपालमा लुप्तप्रायः बनेकोमा पुनर्जागरण गराउने उद्देश्यले जनचेतना अभियान सुरु भएको हो। हाल नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस र जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ। सरकारले विसं २०७२ साउन २८ गते माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।
त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्यापन सुरु भएको छ भने नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्सा पाठ्यक्रम सञ्चालनमा छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी भएकाले यसलाई सर्वव्यापी बनाउनुपर्ने अभियानकर्मी डा. पोखरेलको भनाइ छ।
आजको अवसरमा बिहान ७:०० बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा योगासन र योगको महत्वबारे जानकारी गराइनेछ। मुख्यसचिवको विशेष उपस्थिति रहने कार्यक्रममा जीवनका लागि योग जागरण फैलाउने विषयमा जोड दिइने जनाइएको छ।




