काठमाडौंः भुजुङ्ग हाइड्रोपावर लिमिटेडले अइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।
जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने धितोपत्र बोर्डकाट अनुमति पाएको थियो । सो मध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरुका लागि वितरण गरिने छ । यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न गरिने छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस १७ गते हुनेछ भने ढिलोमा माघ २ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।