वैदेशिक रोजगारीमा जानका लागि आवश्यक प्रक्रियागत काम भैरहवा र पोखराबाट पनि सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी कविराज उप्रेतीले सूचना जारी गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने सबै सेवासुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाटै उपलब्ध गराइने बताए।
स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिसासँग सम्बन्धित कामका लागि काठमाडौं आउनुपर्ने अवस्था अन्त्य गर्न भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित संघ–संस्थालाई निर्देशन दिइएको उनले बताए ।
सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाको सम्बन्धमा सम्बन्धित कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको सूचनामा उल्लेख छ।
श्रम स्वीकृतिलगायत सेवालाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउने, भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए। यसका लागि ऐन, नियम, कार्यविधिमा केही संशोधन वा निर्णय गर्नुपर्ने भएमा मन्त्रालयले अध्ययन गरी निर्णय गर्ने सूचनामा उल्लेख छ।

साझा अर्थ संवाददाता