काठमाडौँ । ताप्लेजुङको घुन्सा नदीमा निर्माण हुने ७७.५ मे.वा. क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी जुटेको छ ।
लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरु र रेमिट हाइड्रोबीच आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । कुल लागत १८ अर्ब १३ करोड रुपियाँ रहेको आयोजनाको निर्माण गर्ने सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ साउन ८ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै गत वैशाख २१ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा विद्युत प्राधिकरण, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीको संयुक्त लगानी ५१ प्रतिशत हुने बताइएको छ ।
परियोजना निमार्णको लागि लक्ष्मी सनराईज बैङ्कको नेतृत्वमा सहवित्तियकरणमा सहभागी बैङ्कहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा साधारण प्रवद्र्धकहरुबाट लगानी रहने छ ।
लक्ष्मी सनराइज बैङ्कको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता पाँच अर्ब रहेको छ भने सहवित्तियकरणमा सहभागी अन्य बैङ्क तथा वित्तीय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको तीन अर्ब, नागरिक लगानी कोषको दुई अर्ब, माछापुच्छे« बैङ्कको एक अर्ब ४४ करोड र एभरेष्ट बैंकको एक अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रुपियाँ रहेको छ ।
आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
साझा अर्थ संवाददाता