वीरगञ्जः पर्सा जिल्लामा गाँजा खेति मौलाउँदै गएको पाइएको छ । प्रहरीले समय समयमा गाँजा खेति नष्ट गर्ने तर कस्ले खेति गरेकोहो पत्ता लगाउन कठिन भएपछि सो खेति मौलाउँदै गएको पाइएको हो ।
पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा हालै नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको अहिले सम्म पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती भएका ठाउँमा फँडानी गर्दै आएको छ । सार्वजनिक वन तथा सार्वजनिक जग्गामा गाँजाखेती भएकाले पनि गाँजाखेतीमा संलग्न हुनेलाई पक्राउ गर्न नसकिएको प्रहरीको भनाई रहेको छ । पर्सामा जङ्गलमा जोडिएका ग्रामीण भेगमा व्यावसायिक रुपमा नै गाँजाको खेती हुने गरेको बताइन्छ । पर्सा प्रहरीले कात्तिक १० गते पनि पर्सागढी नगरपालिका वडा नम्बर १ झबराहमा पनि दुई बिघा क्षेत्रफलमा लगाइएको करिब १५ हजार गाँजाका बोट फँडानी गरेको छ । गत कात्तिक ७ गते पनि पर्सा प्रहरीले पटेवासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा एक बिघा क्षेत्रफलमा लगाइएको करिब सात हजार गाँजा नष्ट गरेको छ । गाँजा खेति हालसम्म कानुनतः अबैध भएकोले कानुनको पालना गराउन प्रहरी लागेपनि यसको खासै नियन्त्रण भने हुन सकेको छैन ।
साझा अर्थ संवाददाता