बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिन थालेको बताएको छ ।
सेप्टेम्बरको ११ मा काठमाडौं आएको आईएमएफको टोलीले अर्थतन्त्रको अवस्था र यसअघि गरेका विस्तारित कर्जा सुविधा (ईसीएफ) को कार्यान्वयन बारे छलफल गरेपछि यस्तो निष्कर्ष निकालेको हो ।
यसको लगत्तै मंगलबार विज्ञप्ति जारी गर्दै आईएमएफ ले नेपालमा पछिल्लो आर्थिक गतिविधि तथा तथ्यांकले आयात वृद्धि सकारात्मक बन्न थालेको, कर संकलनमा सुधार हुँदै गएको र सार्वजनिक लगानी बढ्न थालेकोले अर्थतन्त्रमा सुधारका प्रारम्भिक लक्षण देखिएको उल्लेख गरेको छ ।
आईएमएफका अनुसार नेपालमा कर्जाको विस्तारमा सुधार हुँदै गएता यो नोमिनल आर्थिक वृद्धिभन्दा निकै तल रहेको छ । त्यस्तै वस्तुको मूल्यमा आएको कमी तथा कमजोर मागका कारण गत आर्थिक वर्षको अन्त्यमा मूल्यवृद्धि ३.६ प्रतिशत छ ।
समग्र पर्यटनमा पुनरुत्थान,बलियो रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति पनि निरन्तर बढिरहेको आईएमएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर, दिगो, बलियो तथा समावेशी आर्थिक वृद्धिको बाटोमा मुलुकलाई लैजानका लागि सुधारको गतिलाई बढाउनुपर्ने आइएमएफको सुझाव छ । ‘यसका लागि सार्वजनिक खर्चको कार्यान्वयनलाई तीव्रता दिनु, आन्तरिक राजस्व परिचालनलाई अझै बलियो बनाउनु तथा बालबालिकाको अनुदानको भुक्तानी तत्काल हुनुपर्छ’, आईएमएफले भनेको छ ।
साथै उसले १० वटा ठूला बैंकको एसेट पोर्टफोलियो रिभ्यु तत्काल गर्नुपर्ने बताएको छ । बैंकहरुको खराब कर्जा बढ्दै गएको तथा पूँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको उसको भनाइ छ ।
त्यस्तै, आईएमएफले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐनमा भएको हालैको संशोधनलाई आईएमएफले स्वागत गरेको छ तर नेपाल राष्ट्रबैंक ऐनमा संशोधन तथा राष्ट्रबैंकको बाह्यलेखापरीक्षणलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा पनि जोड दिएको छ । त्यस्तै बचत तथा ऋण सहकारीको जोखिमलाई सम्बोधन गर्ने कामलाई प्राथमिकतामा राख्न पनि उसले सरकारलाई सुझाव दिएको छ ।
केहि दिन अघि मात्र आइएमएफको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग भेटघाट गरेको थियो ।
300
Shares