लेखनाथ (कास्की), ९ असार – पर्यटकीय सहर पोखरा यतिबेला भारतीय पर्यटकले गुलजार बनेको छ। गर्मी बिदाको सदुपयोग गर्न तथा भारतको चर्को गर्मीबाट जोगिन भारतीय नागरिकको पोखरामा उल्लेख्य उपस्थिति रहेको हो। लेकसाइडका सडकदेखि बाराही मन्दिरसम्म भारतीय पर्यटककै भीड लागेको छ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार फेवातालको बाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ लगायत धार्मिक तथा पदयात्रा गन्तव्यमा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको छ। उनले भारतीय पर्यटकको स्वागत तथा सम्मानलाई पोखरेली पर्यटन व्यवसायीको दायित्व भएको बताए।
फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकले दिनहुँ चारदेखि पाँच हजार भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेको जानकारी दिए। बाराही घाटबाट मात्र दैनिक १४० डुङ्गा सञ्चालनमा रहेको उनले बताए। "भारतीय पर्यटक आएपछि डुङ्गा व्यवसायीको दिनभरिको पर्खाइ सकिएको छ," उनले भने।
टान गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाका अनुसार पछिल्लो डेढ महिनामा मात्र डेढ लाख भारतीय पर्यटक पोखरा आएका छन्। उनीहरू प्याराग्लाइडिङ, वन्जिजम, र्याफ्टिङ तथा पदयात्रामा आकर्षित भएको उनले बताए। यतिबेला पाँचतारे होटलदेखि धर्मशालासम्म ९० प्रतिशत कोठा भरिएका छन्।
होटल व्यवसायी पार्वती पाण्डेले भारतीय पर्यटकले कोठामा भन्दा खानामा बजेट मिलाउने गरेको अनुभव सुनाइन्। "भारतमा होटल कोठा महँगो भएकाले उनीहरू सस्तो कोठा खोज्छन्," उनले भनिन्। पर्यटन व्यवसायीहरूले अफसिजनमा पनि पर्यटकको उल्लेख्य आगमन भएपछि उत्साहित बनेका छन्। पोखरामा एकैदिन दश हजार पर्यटक अटाउने होटल क्षमता रहेको व्यवसायीहरूको भनाइ छ।




