काठमाडौँ, २४ जेठ – देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको प्रभावले विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली छ भने तराईमा आंशिक बदली छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस प्रदेश र बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। साथै मधेससहित बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा वर्षा र हिमपात हुन सक्छ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम अनपेक्षित रूपमा बढ्ने सम्भावना छ। राति कोशी प्रदेशसहित हिमाली भागमा बदली रहनेछ भने मधेस र बाँकी पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। तराईका अधिकांश भागमा मौसम सफा रहने अनुमान गरिएको छ। तापक्रम अधिक हुने सम्भावना भएकाले सतर्कता तथा महाशाखाको अद्यावधिक सूचनामा ध्यान दिन अनुरोध गरिएको छ।